काठमाडौं । चलचित्र ‘जेरी अन टप’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले एकसाथ तीनवटा पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन् ।
पोस्टरमा समावेश पृष्ठभूमिले चलचित्रको कथा प्रष्ट पार्ने प्रयास गरेको छ । एउटामा अनमोल र जसिता हिमाल आरोहीको अवतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक अवतारमा छन् । पोस्टरले त्रिकोणात्मक प्रेम रहेको संकेत गरेको छ ।
सुयोग गुरुङको निर्देशन रहेको चलचित्र असोज ३१ गते प्रदर्शन हुनेछ । चलचित्रमा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख भूमिकामा छन् । पोस्टरका केदार घिमिरे भने अटाएका छैनन् ।
अनमोल पिता अभिनेता भुवन केसी ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिकामा छन् ।
निर्माता सरोज न्यौपानेले बिहीबार सार्वजनिक पोस्टरलाई सुरुवात मात्र भन्दै विस्तारै फिल्म भित्रका विभिन्न सरप्राइज खुल्दै जाने बताए ।
सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङलगायतका ठाउँमा यो फिल्मलाई छायांकन गरिएको छ । चलचित्रका केही दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् । फिल्मको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।