जनजी आन्दोलनले देशभरका सिनेमा हलहरूमा व्यापक क्षति पुर्याएको छ। नेपाल चलचित्र संघका अनुसार, आन्दोलनको दोस्रो दिन भौतिक संरचनामा तोडफोड र आगजनी हुँदा एउटा हल पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने चारवटा अन्य हलमा पनि क्षति पुगेको छ।
विराटनगरस्थित भाटभटेनी सपिङ मलमा भएको आगजनीका कारण देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको हल पूर्ण रूपमा जलेको छ। यसबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यसैगरी, बुटवल र भक्तपुरको भाटभटेनीमा रहेका क्यूएफएक्स हलहरूको टिकट काउन्टर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
नयाँ बसपार्कस्थित ल्होत्से मलको बाहिर रहेको आइएनआई सिनेमाजको टिकट काउन्टरमा समेत आगजनी र तोडफोड भएको छ, जसले गर्दा हलको उपकरणमा समेत असर परेको बताइएको छ। काठमाडौंको बालाजुमा रहेको अष्टनारायण हलमा पनि प्रदर्शनकारीले तोडफोड गरेका थिए।
कुल पाँचवटा हलमा गरी करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान संघले गरेको छ। विराटनगरको हलबाहेक अन्य क्षतिग्रस्त हलहरू सञ्चालन गर्न सकिने अवस्थामा रहेकाले नेपाल चलचित्र संघले आइतबारको बैठकमा हलहरू कहिलेबाट खोल्ने भन्नेबारे निर्णय गर्दैछ। जनजी आन्दोलन र त्यसपछिको असहज परिस्थितिका कारण देशभरका हलहरू विगत ६ दिनदेखि बन्द रहेकाले नयाँ फिल्महरूको प्रदर्शन तालिका पनि प्रभावित भएको छ।