‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुने

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ नेपालमा दशैँको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने तयारीमा रहँदा, यो सिनेमाले अन्तर्राष्ट्रिय बजारमा पनि महत्त्वपूर्ण फड्को मार्ने भएको छ ।

दिपेन्द्र के खनालले निर्देशनमा निर्माण भएको यो चलचित्र अमेरिकाका ८० वटा सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउने भएको हो ।

अमेरिकामा यो चलचित्रको वितरणको जिम्मा आहान पौडेलले लिएका छन् । वितरणको क्षेत्रमा यो उनको पहिलो प्रयास हो । उनी चर्चित नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन् ।

हाल टेक्सासमा बसोबास गर्दै आएका आहानले हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो चलचित्रलाई अमेरिकी बक्स अफिसमा भव्य रूपमा रिलिज गरिने बताएका छन् ।

आहानको वितरण कम्पनी ‘चलचित्र इन्टरटेनमेन्ट एलएलसी’ ले अमेरिकाका टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका प्रमुख सहर र राज्यहरूमा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज जस्ता ठूला सिनेमा चेनहरूमा ‘हरिबहादुरको जुत्ता’ रिलिजको तयारी भइरहेको वितरक आहानको भनाइ छ ।

यस चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘हरिबहादुरको जुत्ता’लाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

कृष्ण थापाको छायांकन रहेको यस चलचित्रमा सम्पादन नहकुल खड्काको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ ।

पारिवारिक र रमाइलो कथावस्तु भएको ‘हरिबहादुरको जुत्ता’लाई दशैँको पारिवारिक माहोलमा दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ । चलचित्रको सार्वजनिक प्रचार सामग्रीले पनि दर्शकहरूमाझ राम्रो प्रभाव पारेको छ । पोष्टर, गीत र टिजरले दर्शकको मन जित्न सफल भएका छन् ।


ताजा खबर