चलचित्र ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन् । निर्माण टिमले सोमबार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगीता घोषणा गरेको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको कभर सङ गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ । आ आफ्नो विद्यामा भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गरेको हुनुपर्ने छ । सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ ।
उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्टमा मेन्सन गर्नुपर्नेछ ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् । कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ भने छायांकन डीओपी नवराज उप्रेतीले गरेका छन् ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ, भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् ।
नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ । यो चलचित्र माघ १६ गतेबाट प्रदर्शनमा आउनेछ ।








