कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ को टिमले अस्ट्रेलिया टुर गर्ने भएको छ ।
निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’ को सम्पूर्ण टिमलाई अस्ट्रेलिया लैजाने भएका हुन् ।
यस टुरका लागि निर्देशक बस्नेत र ‘कमेडी दरबार’ का तर्फबाट विक्की अग्रवालबीच हालै औपचारिक कागजी सम्झौता भइसकेको छ ।
प्रवासमा रहेका नेपालीहरूलाई स्थानीय भाषामै स्तरीय हास्यव्यङ्ग्य मार्फत मनोरञ्जन दिलाउने उद्देश्यले यो टुर तय गरिएको आयोजक बस्नेतले बताए ।
“हाम्रो उद्देश्य विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आफ्नै देशको कला र हाँसोसँग जोड्नु हो,” बस्नेतले भने ।
आगामी फेब्रुअरी महिनाको मध्यबाट सुरु हुने यो अस्ट्रेलिया टुर करिब एक महिनासम्म चल्नेछ । टुरका क्रममा अस्ट्रेलियाका प्रमुख ८ सहरहरूमा भव्य कार्यक्रम आयोजना गरिनेछ । जसमा सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन र न्युक्यासल लगायतका सहरहरू समेटिएका छन् ।
यो टुरको मुख्य प्रस्तुतकर्ता ‘पाल्पा इन्टरटेनमेन्ट’ रहेको छ भने आयोजकका रूपमा ‘थ्रीकेजी इभेन्ट’ र पाल्पा इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । टुरमा ‘कमेडी दरबार’ का अधिकांश लोकप्रिय कलाकारहरूको सहभागिता रहने आयोजकले बताएको छ ।








