पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज दिउँसो ब्रेन ह्यामेरेजका कारण उनको निधन भएको घोषणा गरेको हो ।

अस्पतालले दिउँसो १२ः४५ बजे सिटौलाको निधन भएको घोषणा गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उनको टिमसँग माघ १६ गते सिटौला अछाम पुगेका थिए । अछाममा बेहोस भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको र त्यसपछि उनलाई सेनाको हेलिकप्टरमा सुर्खेत हुँदै सेनाकै एयर ट्रकमार्फत तत्काल उपचारका निम्ति काठमाडौं ल्याइएको थियो ।

स्वर्गीय सिटौला डेढ दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा निरन्तर क्रियाशील थिए । उनी ‘द सिनेमा टाइम्स डटकम’का सञ्चालक समेत हुन् । चलचित्र पत्रकार संघ नेपालमा उनले विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
अध्यक्ष निर्वाचित हुनुअघि उनले संघको सचिव र उपाध्यक्ष पदमा रहेर संस्थाको हितमा काम गरेका थिए । उनको कार्यकालमा चलचित्र पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरू भएका थिए । सरल, मिलनसार र सहयोगी स्वभावका सिटौला चलचित्रकर्मी माझ अत्यन्तै लोकप्रिय थिए ।

४५ वर्षका सिटौला अविवाहित थिए । उनको पार्थिव शरीरलाई आइतबार साँझ नै पशुपति आर्यघाट पुर्‍याई हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

उनको अन्त्येष्टिमा चलचित्र पत्रकार, कलाकार, निर्माता, निर्देशक तथा शुभचिन्तकहरूको ठूलो उपस्थिति रहेको थियो । सिटौलाको निधनलाई नेपाली चलचित्र पत्रकारिताले एक अभिभावक र कुशल नेतृत्व गुमाएको रूपमा हेरिएको छ ।


ताजा खबर