काठमाडौं । नेपाली चलचित्र ‘आशा’ निर्माण हुने भएको छ । उडान स्टुडियोको लगानीमा फिल्म निर्माण हुन लागेको हो । शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको निर्देशन राजिव गुरुङले गर्नेछन् ।
११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचन गर्दै सुरुआत फिल्मको नाम र कलाकारको परिचय गराइएको थियो । उक्त फिल्ममा कलाकारको रुपमा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मकी निर्मात्री शर्मिला थापाले एउटा परिवारको कथालाई पर्दामा ल्याउन लागिएको जानकारी दिइन् ।
“आशा पूर्णरुपमा पारिवारिक फिल्म हो । हामीलाई अहिले परिवारसँग समय बिताउने पनि फुर्सद हुँदैन, छैन । तर, त्यही परिवार अपूर्ण हुँदा नभएको सदस्यको महत्व झल्किन्छ, महसुश हुन्छ,” उनले भनिन्, “यो एउटा परिवारको बालकदेखि वृद्धसम्मका दर्शकले हेर्नुपर्ने फिल्म बन्नेछ । हामीले विदेशीलाई समेत हाम्रो कथा गर्व साथ देखाउन सक्ने गरी आफनै कथालाई पर्दामा ल्याउँदैछौँ ।”
निर्देशकसँगै कथाकार रहेका राजिव गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए । उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए ।
अभिनेता महेश त्रिपाठीले फिल्मको विषयले आकर्षित गरेर फिल्ममा जोडिएको बताए । “यसको कथा बनिरहेका भन्दा फरक छ, एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु । यो फिल्मले फिल्मका रुपमा दिने मनोरन्जनसँगै हामीलाई केही दिन्छ,” अभिनेता त्रिपाठीले भने ।








