पृथ्वीयालाई मिसेस वर्ल्डमा ह्युमनिटेरियन अवार्ड

अमेरिकाको लसभेगासमा सम्पन्न विवाहित महिलाहरुबीचको अन्तराष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले सेमीफाइनलसम्म पुगी ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । यो सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधिबाहेक सात विधागत उपाधि छन् । जसमा नेपालले ‘ह्युमनिटेरियन अवार्ड’ जितेको हो ।

पृथ्वीयाले ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नु आफ्ना लागि ठूलो सफलता भएको बताइन् । ‘हामीले अझ बढी तयारी गरेर सहभागी भएमा मिसेस वर्ल्डको उपाधि जित्न पनि सकिन्छ’ पृथ्वीयाले भनिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कंदै छिन्।

‘मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुले ठुलो सफलताको रुपमा लिएको बताए। ‘मिसेस वर्ल्डमा हामीले प्रतिनिधित्व गराएको यो दोश्रो अवसर हो । दोश्रो अवसरमै एउटा मुख्य अवार्ड हासिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो’ उनले भने ।

प्रतियोगितामा ‘मिसेस वर्ल्ड २०२३’ को उपाधि जर्मनकी जुलिया क्यारोलिनले जितेकी छन्। मेडिकल डक्टरसमेत रहेकी जुलियाले बालबालिका र जेष्ठ नागरिकको उपचारमा विशेष योगदान दिँदै आएकी छिन्। विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम चरणमा विभिन्न ३८ देशका महिलाले प्रवेश पाएका थिए।


ताजा खबर