‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक

काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको प्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले आज ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक गरेको हो ।

दाजुभाइबीचको मिलन र भातृत्व दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द छ ।

गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरेको छ । स्वर्गलोकका युधिष्ठिर धर्तिलोकमा रहेका आफ्ना भाइहरू समस्यमा परेपछि खोजि गर्दै आइपुगेको देखाइएको छ ।

चलचित्रको कथावस्तुको भाव बुझ्नसमेत सहयोग गर्ने गीतमा भाइभाइबीचको एकतामा रहेको शक्ति र त्यसको अर्थ बताउने थिम समात्ने प्रयास गरेको बुझ्न सकिन्छ । किनकि ‘पाँच पाण्डव’ दाजुभाइबीचको सम्बन्धको कथा हो ।

गीतको भिडियोमा सिनेमाका मुख्य पात्र छन् । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिक्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देखाएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो श्याम तामाङले खिचेका छन् । सम्पादन सुप्रिम पराजुलिले गरेका छन् । गीतको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् ।

बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने निर्देशक वसन्त निरौलाले बताएका छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।

हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्र ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।


ताजा खबर