काठमाडौं । ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको चलचित्र ‘चिरञ्जीवी भवः’को स्वरकन (डबिङ) सुरु भएको छ । निर्माणपक्षले बिहीबारदेखि चलचित्रको पोस्ट प्रोडक्सनअन्तर्गत स्वरकनको काम सुरु गरिएको जानकारी दिएको हो ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै स्वरकनको सुरुवात गरेका छन् । चलचित्रको छायांकन सम्पन्न भएसँगै निर्माण टोलीले अब पोस्ट प्रोडक्सनको कामलाई अघि बढाएको हो ।
निर्देशक दीपकप्रसाद आचार्यले चलचित्र निर्माणका क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिएको र पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरिने बताएका छन् ।
‘हामीले पोस्टको काम सुरु गरेसँगै स्वरकन गर्न थालेका छौँ,’ निर्देशक आचार्यले भने, ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ ।’
निर्देशक आचार्यका लागि ‘चिरञ्जीवी भवः’ विशेष चलचित्रका रूपमा हेरिएको छ । गत वर्ष प्रदर्शनमा आएको उनको निर्देशकीय चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । उक्त चलचित्रले दर्शकको उल्लेखनीय साथ पाउँदै नेपाली चलचित्र क्षेत्रमा राम्रो व्यापार गरेको थियो ।
‘परान’को सफलतापछि आचार्यले निर्देशन गरेको ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ । पहिलो चलचित्रबाट स्थापित भएको निर्देशकीय छविलाई उनले दोस्रो चलचित्रमा कसरी अघि बढाउँछन् भन्ने विषय प्रतीक्षाको विषय बनेको छ ।
सामाजिक विषयवस्तुमा आधारित ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ । बदलिँदो सोच, पुस्तान्तरण र पारिवारिक सम्बन्धका आयामलाई चलचित्रले कसरी प्रस्तुत गर्छ भन्ने कुरा यसको प्रदर्शनपछि थाहा हुनेछ ।
चलचित्रमा हरिवंश आचार्यसँगै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री तथा मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसा यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दै छिन् ।
चलचित्रमा आशीर्वाद र प्रशंसालाई जोडीका रूपमा प्रस्तुत गरिने हो वा होइन भन्ने विषयमा निर्माण टोलीले अहिलेसम्म खुलाएको छैन । उनीहरूबीचको सम्बन्ध र भूमिकालाई लिएर निर्माणपक्षले जानकारी सार्वजनिक नगर्दा चलचित्रको यो पक्ष रहस्यमै छ ।
यस्तै चलचित्रमा कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् ।
चलचित्रको गीतमा निर्देशक दीपकप्रसाद आचार्य स्वयंले शब्द लेखेका छन् । गीतमा हर्क साउदको पनि रहने निर्माणपक्षले जनाएको छ ।
चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादनको जिम्मेवारी मित्र डी. गुरुङले सम्हालेका छन् । बाबु गिरीले संगीत तयार पारेका छन् । त्यस्तै, नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन् ।
चलचित्रमा रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन् ।
चलचित्रको प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले हुन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपाने छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री र प्रोडक्सनमा विष्णुप्रसाद मैनाली तथा अनिश लामिछाने रहेका छन् । चलचित्रको पब्लिसिटी डिजाइन टाउवा स्टुडियोका विजय बस्यालले गरेका छन् ।
‘चिरञ्जीवी भवः’को छायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो ।
‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते अर्थात् १५ जनवरी २०२७ देखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउने तय भएको छ ।चलचित्रको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ ।








