अभिनेता आचार्यको ‘मुटु फस्या छ’ सार्वजनिक

अभिनेता तथा गायक हरिवंश आचार्यको स्वर, शब्द तथा संगीत रहेको ‘मुटु फस्या छ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामूलक गीत गाउँदै आइरहेका आचार्यले देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई यो गीत मार्फत उठान गरेका छन्। गीतमा समीक्षा अधिकारीले पनि स्वर दिएकी छिन्।

गम्भीर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा आचार्यले ‘काम देऊ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेका छन् । सार्वजनिक गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारी फिचर्ड छन्।

यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी बिदेसिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढङ्गबाट उठाएको आचार्यले बताए ।

‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिँदै गएको छ’, आचार्यले भने– ‘पहिले पहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौँ आउँथे । अहिले त काठमाडौँ युवाहरूको ट्रान्जिटजस्तो बनेको छ ।’ गीतमार्फत हाम्रो देशेको नियति राखेको आचार्यको धारणा छ ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भूपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् ।


ताजा खबर