काठमाडौं । ‘मेरी ओकिली’, ‘झ्याबाट हेर’ जस्ता कालजयी गीतबाट ९० को दशकमा लोकप्रियता कमाएका गायक अनिश सापकोटा उर्फ ‘ओकिली’ नेपाली संगीतप्रेमीका लागि चिनिएको नाम हो । नेपाली–अमेरिकी गायक, संगीतकार तथा निर्माता ओकिलीले विगत दुई दशकदेखि दक्षिण एशियाली र अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन् ।
स्वदेशमा मात्रै नभई प्रवासमा रहेका नेपाली समुदायबीच पनि उत्तिकै चर्चित ओकिलीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । गीतको शब्द, संगीत र स्वर तीनै पक्षमा उनको एकल योगदान छ भने यसपटक भिडियोमा पनि उनी आफैंले अभिनय गरेका छन् ।
अमेरिकाको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई गायक तथा निर्देशक जेम्स प्रधानले निर्देशन गरेका हुन् । छायांकन, सम्पादन, रङ संयोजनदेखि निर्देशनसम्मको सम्पूर्ण जिम्मेवारी प्रधानकै रहेको छ । भिडियोमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन् ।
“यो गीत प्रेमभावमा आधारित छ । अघिल्ला गीतहरूमा म पर्दामा देखिएको थिइनँ, तर यसपटक निर्देशक जेम्स दाइको प्रस्तावपछि गीतको भावअनुसार आफैँ प्रस्तुत भएँ,” ओकिलीले भने, “आफ्नै सिर्जनालाई पर्दामा जीवन्त बनाउन पाउनु सुखद अनुभव भयो ।”
तीन महिनाको मेहनतपछि तयार भएको यो गीत पप र सफ्ट–रक शैलीमा आधारित छ । भिडियोसहितको गीत अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । “मेरा अघिल्ला गीतहरू पनि एउटै प्लेटफर्ममा उपलब्ध होउन् भन्ने सोचले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको हुँ,” उनले थपे ।
ओकिली पछिल्लो समय ‘रिदम काठमाडौं’ नामक एल्बममार्फत चर्चामा आएका थिए । तर यसपटक भने उनले एकल ट्रयाक सार्वजनिक गरेका छन् । संगीत संयोजन जेनरिक्सले गरेका हुन् ।
अनिश ओकिलीले ९० को दशकमा नेपालमा ‘ओकिली ब्यान्ड’ गठन गरेर सांगीतिक यात्रा थालेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’, ‘सिमला भुवा’ लगायतका गीतमार्फत उनले नेपाली संगीत प्रेमीको मन जितेका छन् ।
हाल अमेरिकाको क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बसोबास गरिरहेका ओकिली नेपाली पप र भावनात्मक कथासहितका गीतमा विशेष रुचि राख्छन् । संगीत र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सबाट ‘युथ अचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिएको छ ।
दुई दशक लामो सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेका ओकिलीका गीतहरू नेपाली सांगीतिक जगतमा छुट्टै पहिचान बनाउँदै छन् ।