मुम्बई । ‘बिग बोस २०’को दोस्रो ‘विकेन्ड का वार’मा अभिनेता सलमान खान सामाजिक सञ्जालमा हुने ट्रोलिङ, बडी–सेमिङ र एज–सेमिङविरुद्ध खुलेर प्रस्तुत भएका छन्।
प्रतियोगी स्काउटओपीको सामाजिक सञ्जाल र गेमिङसम्बन्धी टिप्पणीको प्रसंग निकाल्दै सलमानले सामाजिक सञ्जाल ठूलो पेसा बनिसकेको बताए। गेमिङ, कन्टेन्ट क्रिएसन र भिडियो एडिटिङबाट धेरैले रोजगारी र पहिचान पाइरहेको उल्लेख गर्दै उनले यसको नकारात्मक पक्षका रूपमा बढ्दो ट्रोलिङप्रति चिन्ता व्यक्त गरे।
सलमानले मानिसको शरीर, तौल, लुक्स, परिवार, असफलता वा आमा बनेपछि आएको शारीरिक परिवर्तनसम्मलाई लिएर टिप्पणी गर्ने प्रवृत्तिको आलोचना गरे। महिलालाई गर्भावस्थापछि तौल बढेको विषयमा ट्रोल गर्नु गलत भएको भन्दै उनले आफ्नो शरीर र परिवारबारे निर्णय गर्ने अधिकार सम्बन्धित व्यक्तिकै भएको बताए।
आफ्नै उमेरलाई लिएर हुने ट्रोलिङबारे उनले भने, “बूढो भयो, अफकोर्स ६० वर्षको भइसकेँ।” उमेर बढ्नु स्वाभाविक भएको बताउँदै उनले कार्यक्रममै टोपी, ज्याकेट र टी–सर्ट खोलेर एब्ससमेत देखाए।
ट्रोलर्सलाई उनले आफ्नै परिवारका सदस्यलाई त्यस्तै गाली गरिएको भए कस्तो महसुस हुन्थ्यो भनेर सोच्न आग्रह गरे। उनले करिब ८–१० वर्षअघिको घटना सुनाउँदै साइबर सेलको सहयोगमा आफूलाई आपत्तिजनक कुरा लेख्ने एक व्यक्तिको पहिचान र ठेगाना पत्ता लगाएर घरसम्म पुगेको बताए। ती व्यक्तिले पछि माफी मागेको उनको भनाइ थियो।
सलमानले सोहेल खान, वरुण धवनलगायत कलाकारसँगै इन्फ्लुएन्सर र राजनीतिज्ञसमेत ट्रोलिङको निशानामा पर्ने बताए। काम वा फिल्म मन नपरे आलोचना गर्न सकिने, मन्त्रीको काममाथि प्रश्न उठाउन सकिने तर गाली गर्न आवश्यक नभएको उनको भनाइ थियो।
आफू पनि लुक्स, कपाल र उमेरलाई लिएर ट्रोल हुने गरेको बताउँदै सलमानले आलोचनालाई आफ्नो फाइदामा प्रयोग गर्ने प्रयास गर्ने बताए। तर लगातार झुटा र अपमानजनक टिप्पणीले कतिपय मानिस डिप्रेसनमा पुग्न सक्ने भन्दै उनले यसको गम्भीर असरबारे सचेत गराए।
राजनीतिक विषयमा पनि सलमानले फिल्म उद्योगका सबैले आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ भन्ने नभएको बताए। आफूलाई जानकारी नभएको वा संलग्न हुन नचाहेको विषयमा कलाकारसँग जबर्जस्ती प्रतिक्रिया लिएर टीआरपीका लागि प्रयोग गर्नु उचित नभएको उनको भनाइ थियो। पत्रकारको काम सत्य पत्ता लगाएर जानकारी दिनु भएको उनले बताए।
फिल्मको आलोचनाबारे सलमानले दर्शकलाई फिल्म मन नपरे नहेर्न सक्ने तर कलाकारलाई नै किनेको जस्तो व्यवहार गर्न नहुने बताए। दर्शकलाई मनोरञ्जन दिन आफूहरूले सक्दो प्रयास गर्ने उनको भनाइ थियो।
यसैबीच, प्रोमोमा सलमानले छाती समातेर असहज भएको दृश्य देखिएपछि उनको स्वास्थ्यबारे चिन्ता बढेको थियो। तर सलमानले सामाजिक सञ्जालमार्फत आफू पूर्ण रूपमा स्वस्थ रहेको स्पष्ट पारे।
उनका अनुसार उक्त दृश्य प्रतियोगी काजी तौकीरलाई स्वास्थ्य खराब भएको नाटक गर्नु गलत हो भन्ने बुझाउन गरिएको अभिनय थियो। टास्कपछि काजीले बिरामी भएको नाटक गर्दा घरका १५ प्रतियोगी चिन्तित बनेका थिए, तर पछि उनले मेडिकल रुममा आफूलाई केही नभएको बताएका थिए। सलमानले पनि त्यही सन्दर्भमा छाती दुखेको अभिनय गरेका थिए।
प्रोमोको सम्पादनले दृश्यको वास्तविक अर्थ परिवर्तन भएको भन्दै सलमानले दर्शकसँग माफी माग्दै आफ्नो स्वास्थ्य पूर्ण रूपमा ठीक रहेको स्पष्ट पारेका छन्।








