आलिया भट्टको गुनासो- महिलालाई इन्टरनेटमा बस्तु जस्तो गरि हेरियो

बलिउड अभिनेत्री आलिया भट्टले बोटोक्स र कस्मेटिक सर्जरीसम्बन्धी विवादमा आफ्नो मौनता तोड्दै, अफवाह फैलाउने र नकारात्मक टिप्पणी गर्नेहरूप्रति कडा प्रतिक्रिया व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा आलियाले सर्जरी गरेपछि अनुहार बिग्रिएको दाबी गर्दै ट्रोलसमेत गरिएको थियो, जसमा उनले ती सबै दाबीहरू गलत भएको बताइन्।

आलियाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लामो बयान जारी गर्दै, आफूले बोटोक्स गराएको भनाइ असत्य र हानिकारक भएको बताएकी छन्। उनले भनेकी छन्, “कसैले आफ्नै शरीरमा कस्मेटिक रूपमा केही गर्न चाहन्छन् वा सर्जरी गराउन चाहन्छन् भने त्यो उनीहरूको व्यक्तिगत रोजाइ हो। तर ममाथि कुनै प्रमाणबिना यस्ता हास्यास्पद दाबीहरू गरिँदै आएका छन्।”

आलियाले भनेकी छन्, “म मुस्कुराउँदा अनुहार बाङ्गो देखिन्छ भने त्यही मेराे वास्तविकता हो। अनौठो ढंगले बोल्दा मलाई पक्षघात भएको दाबी गर्नु ठट्टा मात्र हो कि के हो?”

उनले यस्ता अफवाहले युवा तथा संवेदनशील मस्तिष्कमा नकारात्मक असर पर्ने बताइन्। साथै, उनले महिलाको अनुहार, शरीर र व्यक्तिगत जीवनलाई इन्टरनेटमा वस्तुजस्तो हेरिने गरेकोमा पनि आपत्ति जनाएकी छन्। आलियाले हरेक व्यक्तिले आफ्नो व्यक्तित्वमा गर्व गर्नुपर्ने बताउँदै यसलाई चिरफार गरेर हेर्न आवश्यक नभएको बताइन्।

अभिनेत्रीको यो बयानले अनलाइनमा फैलिएका गलत जानकारी र अफवाहलाई कडा जवाफ दिएको छ, जसले अभिनेत्रीप्रति दर्शक र प्रशंसकहरूलाई समर्थनमा उभ्याएको छ।


ताजा खबर

No comments to show.