बलिउड सुपरस्टार ऋतिक रोशन यतिबेला चर्चित फिल्म ‘वार २’ का कारण चर्चामा छन्। यसैबीच, प्रसिद्ध दक्षिण भारतीय प्रोडक्सन हाउस होम्बले फिल्म्सले ऋतिक रोशनसँग नयाँ प्रोजेक्टको घोषणा गरेको छ।
हालसम्म फिल्मको शीर्षक वा कथावस्तुबारे खुलाइएको छैन, न त ऋतिकको भूमिका कस्तो हुनेछ भन्ने स्पष्ट भएको छ। तर, फिल्मको घोषणा मात्रले पनि उनका फ्यानहरूमा उत्साहको लहर ल्याएको छ।
होम्बले फिल्म्सका निर्माता विजय किरागान्दुरले भने, “हामी यो सहकार्यबाट निकै उत्साहित छौं। होम्बले फिल्म्सले सधैं प्रेरणादायी र प्रभावशाली कथाहरू प्रस्तुत गर्ने लक्ष्य राखेको छ। ऋतिक रोशन जस्तो कलाकारसँग काम गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो। हामी दर्शकका मन छोने र लामो समयसम्म स्मरणीय रहने फिल्म बनाउन चाहन्छौं।”
त्यसको जवाफमा ऋतिक रोशनले भने, “होम्बले फिल्म्सले अबसम्म अत्यन्त फरक र आकर्षक फिल्महरू बनाएको छ। उनीहरूसँग सहकार्य गर्ने अवसर पाएकोमा म उत्साहित छु। हामी सबै मिलेर दर्शकहरूलाई असाधारण सिनेमाटिक अनुभव दिन चाहन्छौं।”
‘केजीएफ’ सिरिज, ‘सालार पार्ट १’ र ‘कान्तारा’ जस्ता सफल फिल्महरू निर्माण गरिसकेको होम्बले फिल्म्सले अब ऋतिक रोशनसँगको सहकार्यमार्फत अर्को महत्वाकांक्षी प्रोजेक्टको सुरुआत गर्न लागेको हो।
यतिबेला ऋतिक रोशन ‘वार २’ मा साउथ सुपरस्टार जुनियर एनटीआरसँग स्क्रिन शेयर गर्दैछन्, जहाँ कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिनेछिन्। त्यस्तै, उनको सुपरहिरो फिल्म ‘क्रिस ४’ को बारेमा पनि चर्चाहरू तीव्र बनेका छन्।