‘वैवाहिक बलात्कार’ आरोपमा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ओडविरुद्ध उनकै श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दर्ता गरेपछि जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए ।

ओडकी श्रीमतीले यही चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन् । पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भिर आरोप लगाएकी छन् । 

ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनको खोजी भइरहेकाे र अहिलेसम्म पक्राउ नपरेको प्रवक्ता पन्तले बताए ।

ओड यतिबेला कार्यक्रमका लागि जापानमा रहेका छन् । उनी फुकुओकामा हुने नेपाल फेस्टिवल २०२४ को लागि संगीतिक प्रस्तुति दिन पुगेका हुन् ।

कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ ।


ताजा खबर