असोज ३ मा ‘खुस्मा’ रिलिज – सुरुभयो दोस्रो चरणको छायांकन

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको यो फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो ।

निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ । यो फिल्मको कथा निर्देशक थापा मगर आफैले लेखेका हुन् ।

दोश्रो चरणको छायांकन गर्न पुगेको ‘खुस्मा’ टिमलाई मौकोट बासीले भव्य स्वागत गरेका थिए । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । यो फिल्मको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

असोज ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन(खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।


ताजा खबर