धामी क्यारेक्टर पनि हिरो हुन्छ ?

चलचित्र ‘कार्साङ’को टिजर चाँडै सार्वजनिक हुने तयारीमा छ। यम शेर्पाको निर्देशनमा बनेको यस चलचित्र पुस २६ गते प्रदर्शन हुँदैछ। चलचित्र शेर्पा समुदायको संस्कृति र जीवनशैलीमा आधारित छ।

चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, र सुरवीर पण्डितजस्ता कलाकारको अभिनय रहेको छ। डेब्यु अभिनेत्री सिर्जना निङलेखुको साथमा दयाहाङ राईको भूमिकाले दर्शकमा उत्सुकता थपेको छ।

चलचित्रका पोस्टर र सुटिङ सेटका तस्बिरहरू सार्वजनिक भए पनि पात्रहरूको भूमिकाबारे निर्माणपक्षले कुनै आधिकारिक जानकारी दिएको छैन। तर, पोस्टरमा दयाहाङ राई र जितु नेपालको समान उपस्थितिले मुख्य भूमिकाबारे अन्योलता सिर्जना गरेको छ।

चलचित्रले नेपाली समाजको परम्परागत पात्रलाई हिरोको रूपमा प्रस्तुत गर्ने सम्भावना देखिएको छ। विशेषगरी, धामी बस्ने पात्रलाई केन्द्रमा राखेर सिनेमा निर्माण भएको चर्चा छ। यसले नेपाली फिल्ममा भुइँमान्छेका कथा र संस्कृतिलाई प्राथमिकता दिन थालेको पुष्टि गर्ने अपेक्षा गरिएको छ।

‘कार्साङ’ यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुति हो। सिनेमाका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्।

चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्टसका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन्। देशभर भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले पाएको छ।

‘कार्साङ’ले नेपाली फिल्म उद्योगमा नयाँ धारका कथालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।


ताजा खबर

No comments to show.