काठमाडौं । चर्चित हास्य कलाकार तथा अभिनेता विल्सन विक्रम राई ‘तक्मेबुढा’ निर्देशनमा डेब्यु गर्दैछन् । उनको निर्देशनमा बन्ने पहिलो फिचर सिनेमा ‘मैझारो’को छायांकन सुरु गरिएको छ ।
अभिनेता राई स्वयंले कथा, पटकथा र निर्देशन तीनवटै जिम्मेवारी सम्हालेको यो चलचित्रको साउन १ गतेदेखि इलामबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको हो ।
चलचित्र ‘मैझारो’को छायांकन पूर्वी नेपालका इलाम र पाँचथर जिल्लाका विभिन्न रमणीय स्थानहरूमा हुने जानकारी दिइएको छ ।
निर्देशक राईका अनुसार फिल्मले पूर्वी पहाडी क्षेत्रको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतार्नेछ ।
‘मैझारो’मा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरू अभिनय रहने छ ।
‘मैझारो’को संगीत संयोजन अनमोल गुरुङ र तोरेम्पा हाङ राईले गर्नेछन् । चलचित्रमा गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङले स्वर दिनेछन् । छायांकन निर्देशकको रूपमा सौरभ लामाले काम सम्हालेका छन्।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको ‘मैझारो’ सो कम्पनीको पहिलो फिचर सिनेमा हो । यसअघि हास्य र सांगीतिक सामग्री निर्माणमा सक्रिय रहेको कम्पनीले यस चलचित्रमार्फत फिचर सिनेमा निर्माणतर्फ आफ्नो पाइला अघि सारेको हो ।