काठमाडौं । राष्ट्रिय चलचित्र अवार्ड २०८१ अन्तर्गत चलचित्र विकास बोर्डले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेको छ ।
सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विभिन्न विधाका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो ।
यस वर्षको उत्कृष्ट चलचित्रको अवार्ड ‘मिम भाम’ निर्देशित ‘साम्बाला’ ले जितेको छ । निर्देशक भामले सोही चलचित्रमार्फत उत्कृष्ट निर्देशकको पुरस्कार पनि प्राप्त गरेका छन् ।
यस्तै, उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र ‘खुस्मा’बाट उपासना सिंह ठकुरीले पाइन् ।
चलचित्र ‘छक्का पञ्जा ५’ का लेखक दीपकराज गिरीले उत्कृष्ट लेखकको अवार्ड जितेका छन् । त्यस्तै, चलचित्र ‘पिताम्बर’ का छायाकार पुरुषोत्तम प्रधानलाई उत्कृष्ट ‘छायांकन’को पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट सम्पादनको विधामा भने चलचित्र ‘पुजार सार्की’ का सम्पादक भरत रेग्मी विजेता बनेका छन् ।
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको रुपमा नेपाल भाषामा बनेको फिल्म ‘गालय वन’ लाई छानिएको छ ।
यसैगरी, निर्णायक समितिको विशेष प्रोत्साहन पुरस्कार चलचित्र ‘पुजार सार्की’ मार्फत नायक प्रदीप खड्काले प्राप्त गरेका छन् ।
कार्यक्रममा विभिन्न विधामा योगदान दिने कलाकार र प्राविधिकहरूलाई सम्मान गर्दै नेपाली चलचित्र क्षेत्रको विकासमा अझै ठूलो योगदान पुर्याउने अपेक्षा व्यक्त गरिएको थियो ।
राष्ट्रिय चलचित्र अवार्ड २०८१ विजेताहरूको सूची:
उत्कृष्ट चलचित्र: शाम्बाला
उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)
उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)
उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)
उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेता प्रदीप खड्का (पुजार सार्की)
विशेष योगदान सम्मान
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार/निर्देशक)
परशुराम चौधरी (कलाकार/निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार/निर्देशक)
विशेष चलचित्र पुरस्कार
चे (लिम्बु)
दिलसरा (मगर)
मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)
चलचित्र दीर्घ साधना सम्मान
लेखक / निर्देशक लक्ष्मीनाथ शर्मा