फिल्म ‘मोहर’को प्रचारमा पल र बेनिशा, मोफसलका दर्शकसँग साक्षात्कार

साउन २३ गतेबाट देशभर रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘मोहर’ को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल देश दौडाहामा छन् । फिल्ममा समावेश गरिएको ‘झुम झुम’ बोलको गीतले राम्रो साथ पाइरहेका बेला, पल र बेनिशा यही गीतमा दर्शकसँगै रमाउँदै प्रचार अभियानमा सक्रिय छन्।

यसै क्रममा फिल्मको टोली हालै पश्चिम नेपालको प्रमुख सहर बुटवल पुगेको छ। बुटवलको विभिन्न क्याम्पस र स्कुलहरुमा आयोजित कार्यक्रममा कलाकारहरूले दर्शकहरूसँग फिल्मको बारेमा खुलस्त कुराकानी गरेका छन्।

फिल्मका निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेसहित पल शाह र बेनिशा हमालको टोलीले बुटवलका विभिन्न शैक्षिक संस्था तथा रोट्र्याक्टमा आवद्ध युवाहरूसँग फिल्मको सन्देश सेयर गरेका हुन्।

दर्शकसँगको कुराकानीमा नायक पल शाहले ‘मोहर’ एक पारिवारिक फिल्म भएको बताउँदै दर्शकलाई हलसम्म आइपुगेर हेर्न आग्रह गरे। उनले भने, “एउटा कलाकारले कमाउने भनेको दर्शकको माया हो, जुन माया सजिलै कमाउन सकिंदैन।” कार्यक्रममा पलले फ्यानहरूसँग तस्बिर खिचाउँदै उनीहरूसँग आत्मीय संवाद गरे।

फिल्म ‘मोहर’ देउकी प्रथामा आधारित कथामा निर्माण गरिएको हो। यसमा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका चर्चित कलाकारको अभिनय रहेको छ।

फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको टिजर र दुईवटा गीत सार्वजनिक भइसकेका छन् र दुवैलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। निर्माण पक्षले केही दिनभित्र ट्रेलर सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ।

बुटवलमा आयोजित प्रचार कार्यक्रममा सहभागी दर्शकहरू उत्साहित देखिए र उनीहरूले ‘मोहर’ को प्रतिक्षा उत्सुकताका साथ गरिरहेको प्रतिक्रिया दिए। फिल्मको कथावस्तु र प्रस्तुतिले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमले गरेको छ।


ताजा खबर