‘पुजार सार्की’मा विभेदको कथा

नेपाली फिल्ममा पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ । यसले आम मानिसमा एककिसिमको सन्देश र भाष्य निर्माण गर्छ । त्यसैले फिल्ममार्फत विभेद र वर्गीय सङ्घर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ ।

यो फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले फिल्मकर्मीको दायित्व बोध गरेर सामाजिक विषयवस्तु फिल्ममार्फत ठूलो पर्दामा ल्याउन लागेको बताए ।

“हामीले जातीय विभेद र यसले समाजमा पारिरहेको प्रभावलाई भन्नुपर्छ । उक्त समुदायले धेरै बोलिसकेका छन्, अब हामीले फिल्मको माध्यमबाट विभेद अन्त्यमा सघाउनुपर्छ”, निर्देशक राउतले भने, “व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै छ । यो विषयमा हामीले ध्यान दिनु जरुरी छ, मैले यही कथालाई फिल्ममा ल्याएको हुँ ।”

सुरुआती समयमा प्रेम कथानक फिल्म निर्देशन गरेका निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता सामाजिक विषयमा फिल्म निर्देशन गरिसकेका छन् । ‘प्रसाद’ मा जातीय विभेद् र अन्तरजातीय विवाहको मुद्दालाई उठान गरिएको थियो । उनले ‘प्रकाश’ मा वर्गीय सङ्घर्षलाई प्रस्तुत गरे । यसपटक मिश्रित समाजमार्फत अघिल्ला दुवै फिल्मको मुद्दालाई उठाएको उनको भनाइ छ ।

“समय अनुसार पात्र र परिवेश फरक हुन्छ । यसपटक हामीले प्रजातन्त्र आउनु अगाडि र पछिको समयलाई फिल्ममा प्रस्तुत गरेका छौँ । मिश्रित समाज र त्यसमा सङ्घर्ष गरिरहेका समुदायको कथा भन्ने कोसिस गरिएको हो । तर, यो काल्पनिक कथा नभइ समाजमा घटेको घटनामा आधारित छ”, निर्देशक राउतले भने ।

यो फिल्मका लेखक विकास सुवेदीले बाल्यकालमा देखेको आफ्नै गाउँको घटनाक्रमलाई कथाको रुपमा लेखेको बताए । उनले भने, “पछिल्लो समय हामीले तयार गरिरहेको फिल्मकै सिलसिलामा नयाँ फिल्ममा अब यो कथालाई भन्नुपर्छ भन्ने लाग्यो । किनकि काठमाडौँमा बसेर नेपाल बुझ्न सकिँदैन, ग्रामीण संसार र जनजीवन अझैँ सङ्घर्षशील छ ।”

‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता सिग्देलले फिल्म विषय प्रधानसँगै मनोरञ्जनात्मक पनि रहेको बताए ।

“यसमा हामीले विषय उठाएका छौँ । तर, यो फिल्म भएकोले यसलाई कलाको शैलीमा तयार गरिएको छ । मैले निभाएको चरित्रले उसले देखेको समाजलाई आफ्नो गाउँमा देख्न चाहन्छ । त्यसका लागि त्यो पत्रा सङघर्षशील छ”, अभिनेता सिग्देलले भने ।

ग्रामीण युवाको भूमिकामा देखिएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैतबहादुर’ बन्ने विश्वास व्यक्त गरे । “मैले एउटा फरक जीवन बाँच्ने कोसिस गरेको छु । त्यो जीवनले मलाई त्यो समुदायको समस्यासँग जानकार गरायो”, अभिनेता खड्काले भने “हामीले आफ्नो आँखाले अरुको समस्याले हेर्दा बुझ्न सक्दैनौँ । महसुस गर्न त्यो समुदाय भएर बाँच्नु जरुरी छ ।”

उनले कास्कीको कास्कीकोट गाउँको स्थानीय लवजदेखि रहनसहनलाई आत्मसात गर्न प्रशिक्षण लिएको बताए । उनले भने, “हामीले हरेक भूमिका निर्वाहका लागि उत्तिकै मेहनत गरेका छौँ । तर, नतिजाले मात्र मेहनतको चर्चा हुनेछ ।”

सङ्गीतकार सुभाष भुसालले निर्माण गरेको यो फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्यलगायतको अभिनय रहेको छ। फिल्म बुद्धजयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शन हुँदैछ ।


ताजा खबर

No comments to show.