ट्रेन्डिङमा ‘वसन्त’को ट्रेलर, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को ट्रेलरलाई हालसम्म ४ लाख बढि दर्शकले हेरिसकेका छन् । ट्रेलर युट्युवको मुभिज सेक्सन अर्न्तगत ४ नम्बर ट्रेन्डिङमा छ ।

फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेका हुँदा ट्रेन्डिङको शिर्ष स्थान तर्फ विस्तारै पाइला बढाउँदै गएको छ । हालसम्म फिल्मको ट्रेलरले ४ लाख ७ हजार भ्युजसहित २३ हजार लाइक र तीन हजार ४ सय बढि प्रतिक्रिया प्राप्त गरेको छ ।

फिल्मको ट्रेलरको कमेन्टबक्समा अमृत परियारले लेखेका छन्, ‘मलाई लाग्छ यो सिनेमाले मान्छेले मान्छेलाई हेर्ने नजरप्रति केही हदसम्म परिवर्तन हुन सहयोग गर्नेछ भनेर । शुभकामना सम्पूर्ण टिमलाई ।’ अर्का एक व्यक्ति सन्देश बिकले लेखेका छन्, ‘एउटा सिनेमामा यति धेरै कथा समावेश रहेछ यो ट्रेलर हेर्दा गुजबम आयो, धेरै शुभकामना प्रकाश दाजु ।’

यता अर्का कमेन्टर राम प्रसादले लेखेका छन्, ‘एक एक डाइलगमा एउटा कारण लुकेको छ । हलसम्म तान्ने नै भयो । दिमाग नै हल्लाउँछ त । वेस्ट अफ लक वसन्त टीम, धेरै बधाई छ । यसपटक फेरि नयाँ अन्दाज को सिनेमा हेर्न पाइने भयो ।’ यता अर्का फ्यान मदन बराइली लेख्छन्, ‘साच्चिँकै समाज सुधार हुनुपर्छ भन्ने सोच राख्नुहुने कुनैपनी जातको मान्छेले यो सिनेमा अवस्य हेर्ने छ, म पनि परिवारसँग गयर हेर्ने हो, सिनेमा गजब बनेको जस्तो लाग्यो सम्पुर्ण टिमलाई अग्रिम शुभकामना ।’

फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्ममा सुसन प्रजापतिको छायांकन छ । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्म वितरण गर्नेछन् ।


ताजा खबर

No comments to show.