‘महाराजधिराज’बाट किन अलगिए पल शाह ?

काठमाडौं । फिल्म ‘महाराजधिराज’ बाट अभिनेता पल शाह अलगिएका छन्। निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा.लि. ले बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहसँग भएको सम्झौता औपचारिक रूपमा अन्त्य गरिएको जानकारी दिएको हो।

गत कात्तिक १४ गते शाह र निर्माण पक्षबीच सहमति भएको भए पनि हाल उक्त सहमति समाप्त भएको जनाउँदै कम्पनीले अब यस विषयमा कुनै प्रतिक्रिया नदिने बताएको छ।

पल शाहले पनि आफ्नो सामाजिक सञ्जालमार्फत फिल्मबाट अलगिनुको कारण स्पष्ट पारेका छन्। उनका अनुसार, आफैले निर्माण तथा अभिनय गर्दै गरेको अर्को फिल्म ‘यानीमाया’ को छायाङ्कन पनि यही समयमा परेकाले ‘महाराजधिराज’ मा संलग्न रहन सम्भव नभएको हो। उनले दुवै फिल्ममा एकैपटक समय दिन नसकिने भएकाले ‘यानीमाया’लाई प्राथमिकता दिनुपर्ने अवस्था आएको बताएका छन्।

‘महाराजधिराज’ मा पल शाह सबैभन्दा पहिले अनुबन्धित भएका कलाकार थिए र उनी अभिनित दुई क्यारेक्टर लुक्स सहितको पोष्टर समेत सार्वजनिक भइसकेको थियो। अब शाहको ठाउँमा को आउनेछन् भन्नेबारे निर्माण पक्षले खुलाएको छैन।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा अहिले आर्यन सिक्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट र उषा रजक लगायतका कलाकारहरू आवद्ध छन्।

फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट हुन् भने टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रबी खड्का निर्माताको भूमिकामा छन्।


ताजा खबर