‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध, पलको बुबाको भुमिका गर्दै

काठमाडौं । भारतीय अभिनेता प्रदीप रावत पुन: नेपाली पर्दामा देखिने भएका छन् । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘आ बाट आमा’मा उनी अनुबन्ध भएका हुन् ।

तेलुगु, हिन्दी र तमिल सिनेमाका अभिनेता समेत रहेका रावत यसअघि पन्तकै निर्देशनमा बनेको नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गरिसकेका छन् । जसमा उनले नीता ढुङ्गानाका बाबुको भूमिका निभाएका थिए ।

चलचित्र ‘आ बाट आमा’मा यसअघि नै अभिनेत्री विपना थापा र अभिनेता पल शाह अनुबन्ध भइसकेका छन् । निर्देशक पन्तका अनुसार रावतले यस सिनेमामा अभिनेता पल शाहका बाबुको भूमिका निर्वाह गर्नेछन् ।

निर्देशकले भने, “प्रदीप रावतलाई हामीले ‘आ बाट आमा’मा अनुबन्ध गरेका छौं । उहाँले नेपाली परिवेशमा आधारित, लोक शैलीको भूमिकामा अभिनय गर्नुहुनेछ ।”

चलचित्र ‘ह्रस्वदीर्घ’बाट १६ वर्षपछि पुनरागमन गरेकी विपना यसपटक पनि निर्देशक पन्तसँगै सहकार्य गर्दैछिन् ।

यस चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने निर्माण टिमले आगामी भदौदेखि फ्लोरमा लैजाने तयारी गरिरहेको छ । अन्य कलाकार र प्राविधिक टिमको छनोट प्रक्रिया जारी रहेको र छिट्टै टुंगो लाग्ने निर्देशक पन्तले जानकारी दिए ।

‘आ बाट आमा’को थिम पोस्टर दुई साता अघि सार्वजनिक भइसकेको छ भने प्रदर्शन मिति पनि तय भइसकेको छ । निर्देशक पन्तका अनुसार फिल्म २०८१ सालको फागुन १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।


ताजा खबर