वैदेशिक रोजगारीको कथा ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको सपना, संघर्ष र पीडाको कथालाई उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ को टिजर सार्वजनिक गरिएको छ ।

निर्माण कम्पनी रेबेल फिल्म्सले साउन १६ गते प्रदर्शन हुने चलचित्रको आइतबार सार्वजनिक गरिएको टिजरले दर्शकलाई गहिरो भावनात्मक छाप दिने खालको चित्रण गरेको छ ।

चलचित्रले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटोहरूलाई पर्दामा उजागर गरेको निर्माणपक्षको भनाइ छ । जसमा नेपाली युवाहरूको रोजगारीको खोजीमा हुने विदेश पलायन, पारिवारिक बिछोड, प्रवासमा पर्ने मानसिक र शारीरिक पीडा तथा अनपेक्षित षड्यन्त्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको देख्न सकिन्छ ।

विभोर पोखरेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको नाम ‘रियाल रिङ्गेट’ खाडी क्षेत्रका मुख्य श्रम गन्तव्य मुलुकहरूको मुद्रा कतार तथा साउदीको रियाल र मलेसियाको रिङ्गेट बाट साभार गरिएको हो । यसले चलचित्रको विषयवस्तुलाई सरल तर गहिरो रूपमा झल्काउँछ । चलचित्रको कथा तथा पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन् ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा रहेको ट्यागलाइन “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” ले कथा बोक्ने भावनात्मक गहिराइलाई समेटेको छ । कवि नाथन रायनद्वारा रचित यी शब्दहरूले श्रमिकहरूको जीवनमा गढिएको पीडा, शोषण र परायोपनलाई कलात्मक रूपमा प्रस्तुत गर्छन् ।

गगनलाल प्रधानको निर्माणमा बनेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, राजीव समरको कोरियोग्राफी, विपिन मल्लको सम्पादन र किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

चलचित्रका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले आवाज छ । गीतका शब्दहरू अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।

भारतको राजस्थान र नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।


ताजा खबर