एक सातामा ‘मोहर’को शीर्ष गीतलाई १० लाख बढी भ्यूज, दर्शक प्रतिक्रिया कस्तो छ ?

काठमाडौं । एक साताअघि सार्वजनिकमा आएको चलचित्र  ‘मोहर’को ‘चाहिँदैन मोहर’ बोलको गीतले यति बेला दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ ।

हालसम्म यस गीतले सार्वजनिक भए यता १० लाख भ्यूज प्राप्त गरेको छ । आगामी साउन २३ गतेबाट रिलिजमा आउन लगेको चलचित्रको शीर्ष गीतले सुरुवाती दिनमा सोचेअनुरूप भ्युज नपाएपनि टिकटकमा रुचाइएसँगै निकै चर्चा पाइरहेको छ ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको गीतले यो समाचार तयार पार्दासम्म गीतले दस लाख ६३ हजार तिन सय ३९ भ्यूज पाएको छ । 

गीतले चर्चा पाएपछि निर्देशक प्रतीक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई बिस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक सञ्जालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’

सार्वजनिक यस गीतमा शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द, सुरेश अधिकारीको संगीत रहेको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

चलचित्रको टिजरलाई पनि दर्शकको सुखद प्रतिक्रिया मिलेको छ । यस सिनेमाले देउकी प्रथाको कथा भन्छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रमा पल र नीतिसँगै बेनिशा हमाल, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवि लगायतका कलाकारहरूको अभिनय छ ।

चुम्बन जंग शाही निर्माता रहेको चलचित्रमा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशक, रामजी लामिछानेको कोरियोग्राफी, दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 


ताजा खबर