‘जहाजैमा’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित

काठमाडौं । निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो ।

अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण फिल्ममा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्मको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्नेछन् । उज्ज्वल गुरागाईंको निर्माण रहने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ ।

केपी फिल्म्सको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु गरिनेछ। नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्मको प्रि(प्रोडक्सन तीव्र गतिमा भइरहेको छ ।

साथै, निर्माण पक्षले छायांकन सुरु हुन दुई महिना अघिनै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । आरआर फिल्म्ससँग सहकार्य गर्दै आउँदो फागुन १ गतेदेखि फिल्म देशभर प्रदर्शनमा ल्याइने बताइएको छ । फिल्मको वितरण आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन् ।


ताजा खबर