प्रेम, पीडा र बदलामा ‘रिमै’को टिजर

काठमाडाैं । चलचित्र ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा बनेको सिनेमाको मंगलबार सार्वजनिक टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ ।

ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला रहेको टिजरमा दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।

गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको सिनेमाको छायांकन र संवादले समाजका गहिरा यथार्थ प्रस्तुत गर्ने आशा टिजरले दिलाउँछ भने टिजरको अन्त्यतिर देखिएको तनावपूर्ण दृश्यले कथामा द्वन्द्वको पाटोका साथै त्रिकोणात्मक प्रेम हुनसक्ने संकेत गर्छ ।

यो चलचित्र मार्फत् ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैया’ बनेकी रिस्मा र दयाहाङ लामो समयको अन्तरालपछि देखिने भएका छन् ।

यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब भदौ २० गतेबाट प्रदर्शनमा आउनेछ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

कबड्डी, जारी र मनसराजस्ता चलचित्रका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।


ताजा खबर