पूर्वेली दर्शक भेट्न निस्किए दयाहाङ, आँचल र विजय

गत चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ टिम दर्शकसँग भेटघाट गर्न पूर्व यात्रामा निस्किएको छ । फिल्मका नायक दयाहाङ राई, नायिका आचल शर्मा, कलाकार विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिममा पूर्व यात्रामा निस्किएको हो ।

कार्यकारी निर्माता पोखरेलले कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने यो भेटघाट झापाको बिर्तामोड पुगेर टुङ्गिने बताए ।

पोखरेलका अनुसार टिमले मङ्गलबार बिहान १० बजे बिराटनगरस्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११ः३० को शोमा फिल्म हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछ । यसक्रममा टिम विराटनगरका विभिन्न हलमा पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीका दुई वटा सिनेमा हल इलाइट सिनेमा हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरानस्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । टिम बुधवार बिहान ११ बजे दमकस्थित डि म्याक्स सिनेमा हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा पुग्नेछ ।

निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरक गोविन्द शाहीका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको फिल्मको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् ।


ताजा खबर