काठमाडौं । अभिनेता प्रवीण खतिवडा र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा चलचित्रको विधिवत् रुपमा क्यामेरा, क्ल्याप बोर्ड र स्क्रिप्ट पूजा गर्दै मुहूर्त सम्पन्न भएको हो ।
अरुण लामाले निर्देशन गर्ने चलचित्र ‘डोरी’को छायांकन आइतबारबाट सुरु हुने बताइएको छ । मुहूर्त कार्यक्रममा प्रवीण र अञ्जनासहित कलाकार शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, नूतन, कविता आले र सजन श्रेष्ठको उपस्थिति थियो। कलाकारहरूले सरस्वती मन्दिरमा पूजाआजा गर्दै चलचित्रको सफलताको कामना गरे।
निर्देशक अरुण लामाले चलचित्रको नाम ‘डोरी’ले सम्बन्ध र जिम्मेवारीको विभिन्न पक्षलाई प्रस्तुत गर्ने जनाउँदै भने, “चलचित्रका पात्रहरू आ–आफ्ना समस्याहरूमा बाँधिएका छन्, कोही जिम्मेवारीको डोरीले, कोही मायाको डोरीले र कोही समस्याको डोरीले। यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्नेछ।”
अभिनेत्री अञ्जना बराइलीले चलचित्रको आइडिया नयाँ रहेको बताउँदै भनिन्, “यो चलचित्रले दर्शकलाई नयाँ अनुभूति दिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।”
‘पूर्ण बहादुरको सारङ्गी’को सफलतापछि उनले काम गर्न लागेको यो पहिलो सिनेमा हो ।
अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई रहस्य, सामाजिक यथार्थ र ‘सस्पेन्स क्राइम’को संयोजनको रुपमा परिभाषित गरे। उनले भने, “ चलचित्रका यी तत्वहरूको मिश्रणले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास छ ।”
चलचित्रको ‘स्क्रिप्ट डक्टरिङ’ मनोज पण्डितले गरेका छन् । यस चलचित्रका निर्माता दिनेश भट्टराई र कार्यकारी निर्माता राज थापा हुन् ।
सौरभ लामाले छायांकन गर्ने चलचित्रमा संगीत राजनराज सिवाकोटीको हुनेछ भने द्वन्द्व निर्देशन राजु तामाङले सम्हाल्नेछन्।
चलचित्रलाई सन् २०२५ मा रिलिज गर्ने लक्ष्य राखिएको छ ।