यस्तो छ ‘रंगी’ को दोस्रो पोस्टर

काठमाडौं । अभिनेता सलोन बस्नेतले निर्माण गरेको चलचित्र ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। बाबुछोरीको कथा प्रस्तुत गर्ने यस चलचित्रलाई आगामी फागुन २ गतेदेखि प्रदर्शन गरिनेछ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको यो चलचित्रको नयाँ पोस्टरमा अभिनेता सलोन बस्नेत, नायिका नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई समेटिएको छ। पोस्टरमा वसन्तपुर दरबार स्क्वायरको गल्ली पृष्ठभूमिमा देखाइएको छ। सलोनले साइकलमा होम डेलिभरीको झोलामा आयुषीलाई बोकेका छन्, र दुवैजना खुसी मुद्रामा प्रस्तुत छन्। उनीहरूको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन्।

सुरेश न्यौपानेले निर्देशन गरेको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको मुख्य भूमिका छ। ‘मिस वर्ल्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठले यसै चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्।

‘रंगी’ अभिनेता सलोन बस्नेतको पहिलो निर्माण हो। निर्देशक सुरेश न्यौपानेले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चर्चित चलचित्रमा सह-निर्देशनको भूमिका निभाइसकेका छन्।

चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, र राजेन्द्र मोक्तानको कलर रहेको छ। साथै, कविराज गहतराज र शिशिर खातीले कोरियोग्राफीको जिम्मा लिएका छन्।

‘रंगी’ एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टको वितरणमा देशव्यापी रूपमा प्रदर्शन हुने तयारीमा छ।


ताजा खबर

No comments to show.