‘बलिदान’मा समीरको हिरोइन् कविता

वर्षकै प्रतिक्षित नेपाली चलचित्रमध्ये एक, ‘बलिदान’, छायांकनको अन्तिम चरणमा पुगेको छ। मोरङको हसिना सिमसार क्षेत्रमा चलचित्रको क्लाइमेक्स सिन छायांकन भइरहेको निर्माण टिमले जनाएको छ।

चलचित्रमा मुख्य भूमिकामा समीर भट्ट र सौगात मल्ल रहेका छन् भने निर्देशन सन्तोष सेनले गरिरहेका छन्। चलचित्रको नायिकाबारे अहिलेसम्म औपचारिक घोषणा नगरिए पनि स्रोतका अनुसार कविता राय यस चलचित्रमा समीर भट्टको अपोजिट भूमिकामा अभिनय गरिरहेकी छन्।

कविताले ‘कसलाई सानु भनी बोलाउँला’ बोलको गीतमार्फत आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। सुरुवाती करियर म्युजिक भिडियोमा बिताएकी कविताले यो चलचित्रबाट आफ्ना फ्यानहरूलाई नयाँ स्वाद दिने आशा गरिएको छ।

निर्देशक सन्तोष सेनले चलचित्रका लागि तीनवटा भव्य सेट तयार पार्न करिब तीन करोड रुपैयाँ खर्च गरेको बताएका छन्। चलचित्रको क्लाइमेक्सका लागि ४२ फिट अग्लो काली देवीको प्रतिमा ल्याइएको थियो। यस विशेष दृश्यलाई छायांकन गर्न माघ १ मा बलिदान सांस्कृतिक महामहोत्सवको आयोजना गरिएको थियो।

चलचित्रमा समीर, सौगात र कविताका साथै अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

आसुसेन फिल्म्स ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्मातामा पवन ब्राडफोर्ड विस्ट र सह–निर्मातामा प्रेम पुरी रहेका छन्।

हालसम्म चलचित्रको रिलिज मिति तय गरिएको छैन। छायांकन पूरा भएपछि पोस्ट-प्रोडक्सनको कामलाई अघि बढाइने र त्यसपछि टिजर सार्वजनिक गरी रिलिज मिति घोषणा गरिने निर्देशक सेनले बताएका छन्।


ताजा खबर