काठमाडौं । निर्देशक युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’को निर्माण घोषणा गरेका छन्। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा सिनेमाको जानकारी गराएको हो।
यसअघि प्रकाश थापाको निर्देशनमा पनि ‘मनको बाँध’ नामक चलचित्र निर्माण भएको थियो। २०३० सालमा प्रदर्शनमा आएको उक्त चलचित्र नेपाली सिनेमा इतिहासमा विशेष स्थान राख्छ। सिनेमा विकास बोर्डकै अग्रसरतामा निर्माण भएको उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए।
निर्देशक कार्की नेपाल चलचित्र प्राविधिक संघका महासचिव समेत रहेका छन्। उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रमा प्रोडक्सन डिजाइनरको रूपमा योगदान दिएका छन्। साथै, दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’मा कार्यकारी निर्माताको रूपमा काम गरिसकेका छन्, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ।
‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन्। हालसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन।
निर्देशक कार्कीका अनुसार चलचित्र ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका गहिरा विषयमा आधारित हुनेछ। विशेष गरी, यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने बताइएको छ।
नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै निर्माण गरिने यो चलचित्र नेपाली समाजका यथार्थपरक कथालाई पर्दामा उतार्ने निर्माण पक्षले बताएको छ।