काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक गरिएको छ ।
यस वर्षको दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको निर्माण पक्षले बुधबार सिनेमाका प्रमुख पात्र अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि-टिजर सार्वजनिक गरेको हो ।
समीरको सशक्त एक्सन अवतार रहेको प्रि-टिजरमा उनलाई कुनै समुदायको शक्तिशाली पात्रको रुपमा प्रस्तुत गरिएको देख्न सकिन्छ ।
अभिनेता विराज भट्टको आवाजमा देशप्रेमको भावना झल्काइएको न्यारेसनमा भनिएको छ, “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।”
भिडियोको अन्त्यतिर रिसाहा भावमा प्रस्तुत भएका समीरलाई आक्रोशपूर्ण चिच्याहट दृश्यका साथै प्रभावशाली देखाइएको छ ।
चलचित्रका निर्देशक सेनले समीरलाई युग पुरुषको संज्ञा दिँदै फेसबुकमा लेखेका छन्, ‘नेपाली फिल्म जगतमा समीरको प्रवेशले एक नयाँ युगको थालनी गर्नेछ । त्यसैले हामी उनलाई युगपुरुष भन्दै आएका छौँ । समीरमा कलाकारिकता र अभिनयका सबै गुण र सीपले भरिएका छ । ‘बलिदान’ले ती सबै गुण र सीपलाई उजागर गरेको छ ।’
साथै, निर्देशक सेनले समीरमा अभिनयको सम्पूर्ण क्षमता रहेको उल्लेख गर्दै ‘बलिदान’मार्फत त्यो प्रतिभा उजागर हुने विश्वास व्यक्त गरेका छन् ।
‘यो प्रि-टिजर समीरको प्रस्तुतिको पहिलो झलक मात्र हो, आगामी दिनमा थप झिल्काहरू सार्वजनिक गर्दै जानेछौँ,’ सेनले बताएका छन् ।
‘आसुसेन फिल्म्स् प्रा.लि.’को ब्यानरमा निर्माण भएको चलचित्रमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।
देशभक्ति भावनाको कथावस्तुमा आधारित चलचित्रमा राजनीतिक विषयसँगै एक्सन ड्रामा समावेश भएको बताइएको छ ।