काठमाडौं । बिहीबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’ को प्रदर्शन हाललाई स्थगित गरिएको छ। देशभर फैलिरहेका आन्दोलन र असहज परिस्थितिका कारण निर्माताले यस्तो निर्णय लिएका हुन्।
निर्माता हिमाल कडरियाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाल देशमा देखिएको आन्दोलन र जटिल परिस्थितिले जनजीवन प्रभावित भइरहेको छ। यस्तो संवेदनशील अवस्थामा हामी दर्शकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा विदेशमा पनि हाललाई स्थगित गर्ने निर्णयमा पुगेका छौँ।”
विज्ञप्तिमा दर्शकहरूले चलचित्रप्रति देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै, अवस्था सामान्य भएपछि पहिलो सम्भव मितिमा नयाँ प्रदर्शन तालिका सार्वजनिक गरिने उल्लेख गरिएको छ।
लामो समयदेखि प्रचारमा रहेको ‘महाभोज’ सहकारीको रकम दुरुपयोगको कथावस्तुमा आधारित सामाजिक विषयवस्तु प्रस्तुत गर्ने चलचित्र हो। प्रदर्शन मिति सरेसँगै दर्शकहरूले केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ।
चलचित्र युनिटले दर्शक, वितरक, सञ्चारकर्मी र शुभेच्छुकहरूलाई निरन्तर साथ र समझदारीका लागि धन्यवाद दिँदै आगामी घोषणासम्म धैर्य गर्न आग्रह गरेको छ।
