चलचित्र ‘परी’को मुहूर्त, मुख्य भूमिकामा किरणदेखि दीपाश्रीसम्म

काठमाडौं । गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘परी’को मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ ।

मुहूर्त कार्यक्रममा अभिनेता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाललगायत कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा किरण केसीले चलचित्रको स्क्रिप्टले आफूलाई निकै प्रभावित पारेको बताउँदै भने, “डाइरेक्टर साब गौतमले स्क्रिप्टमा जुन मेहनत गर्नुभएको छ, त्यो साँच्चिकै प्रशंसनीय छ । हामीले अहिलेसम्म काम गरेका स्क्रिप्टहरूभन्दा यो फरक र उत्कृष्ट लाग्यो ।”

दीपाश्री निरौलाले पनि फिल्मको कथा आफैंमा आकर्षक भएको र सबै टिमले स्क्रिप्टमा मेहनत गरेकाले फिल्ममा काम गर्न तयार भएको बताइन् । “फिल्म राम्रो बनोस् भने सबै पक्षले मेहनत गर्नुपर्छ,” उनले भनिन्, “यस पटक डाइरेक्टर गौतम साबले स्क्रिप्टमै धेरै समय दिनुभएको छ, त्यसैले म पनि यो प्रोजेक्टमा जोडिएकी हुँ ।”

चलचित्र ‘परी’ मा किरण र दीपासँगै प्रियंका कार्की, निदेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, रेणु दुलाल, संगम गौतम, जेसिका पोखरेल, निशा गौतम र अर्नव नागिलाको समेत अभिनय रहनेछ ।

निर्देशक गौतमका अनुसार चलचित्र ‘परी’को छायांकन यहि जेठ २८ वा २९ गतेबाट सुरू हुने छ । दोलखा र तनहुँका विभिन्न स्थानहरूमा छायांकन गरिने छ । कथाले कल्पनामा आधारित एक परिको जीवन र परिवेशलाई चित्रण गर्नेछ ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्नेछन् भने कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपक शर्मा र विकास चौधरीको संगीत, गायनमा डा. खेम क्षेत्री, रचना रिमाल र डा. महेन्द्र भट्टको स्वर रहनेछ। गीतहरू आनन्द अधिकारीले लेखेका छन् ।

फिल्मको मेकअप सरोज पाण्डेले, केश विन्यास प्रिया कार्कीले गर्ने छन् । प्रोजेक्ट म्यानेजर सुवास काफ्ले र सहायक निर्देशक चन्द्र भण्डारी रहेका छन् ।


ताजा खबर