चलचित्र ‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौं । चलचित्र ‘महाभोज’ को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यो चलचित्र अब यही जेठ ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको हो ।

यसअघि गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रिलिज गर्ने तयारीमा रहे पनि देशभर उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावनाका कारण अन्तिम घडीमा प्रदर्शन स्थगित गरिएको थियो ।

निर्देशक राउतले भने, “हामीले मेहनतका साथ बनाएको यो चलचित्र दर्शकहरूसामु समयमै ल्याउन नसक्दा दु:ख लागेको छ । अब भने जेठ ३० गते रिलिज हुँदैछ र हामी तपाईंहरूको साथको अपेक्षा गर्दछौँ ।”

केही दिनअघि राजधानी काठमाडौंमा सम्पन्न प्रिभ्यु शोमा सहभागी दर्शकहरूले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरूले मन छुने कथा, आकर्षक प्रस्तुति र दमदार अभिनयको प्रशंसा गरेका थिए ।

चलचित्र ‘महाभोज’ सहकारी ठगीको मारमा परेका सर्वसाधारणहरूको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । यसले एक परिवारको मार्फत समाजमा यस्ता घटनाले पार्ने प्रभावलाई मनोरञ्जनात्मक र भावनात्मक ढंगले चित्रण गर्छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला मुख्य भूमिकामा रहेको छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुति रहेको यस चलचित्रलाई हिमाल कडरियाले निर्माण गरेका हुन् ।


ताजा खबर