काठमाडाैं । भाेलि (शुक्रबार)देखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’को प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधबार आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह)लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्मभन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’
त्यस्तै, अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परासँगै सिनेमाले मनोरञ्जन दिने बताए । उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै सिनेमामा कैद भएका सुन्दर दृश्यको तारिफ गरे । ‘तपाइँलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ । ग्रामिण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ’ संजोगले भने ।
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले सिनेमा निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । सिनेमा हेरेर निस्किँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे ।
गायक महेश काफ्लेले सिनेमाले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए । ‘यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले इन्जोय गरेँ’, गायक काफ्लेले भने ।
निम्तालु सिनेकर्मी र सञ्चारकर्मीको ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन् । ‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’ उनले भनिन् ।
पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।
अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए । उनले सिनेमा पूर्ण पारिवारिक र मनोरञ्जनात्मक भएकाले सम्पूर्ण परिवारलाई एकसाथ हलसम्म आउन आग्रह गरे । लामोसमयपछि पर्दामा देखिएका अभिनेता आशिफ शाहले दर्शक भएर हेर्दा सिनेमा इन्जोय गरेको प्रतिक्रिया दिए ।
प्रिमियर पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले गाउँको सेटअपमा पहिलोपटक काम गरेकाले नयाँ अनुभव संगालेको बताए । अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए ।
निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा सिनेमा निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले सिनेमा हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर सिनेमा तयार भएको बताए । उनी दर्शकले सिनेमा रुचाउनेमा विश्वस्त छन् । जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने सिनेमाको अग्रिम टिकट बुकिङ र खरिद खुला भईसकेको छ । प्रदर्शकले प्रचार समाग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।
गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।
सिनेमाको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् । सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक ट्रेलरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
