‘राम नाम सत्य’मा सुपुष्पा भट्टको इन्ट्री, भदौदेखि छायांकन सुरु

काठमाडौं । चलचित्र ‘रामनामसत्य’ मा अभिनेत्री सुपुष्पा भट्ट फाइनल भएकी छन् । निर्माण टिमले बुधवार सुपुष्पासँग औपचारिक रूपमा कागजी सम्झौता गरेको हो ।

निर्देशक माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको यस चलचित्रमा सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको निर्माणपक्षले बताएको छ ।

सुपुष्पाको पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ मा उनको अभिनयको निकै प्रशंसा भएको थियो । आफूले निर्वाह गर्ने पात्रप्रति सन्तुष्टि भएपछि नै ‘रामनामसत्य’ साइन गरेको सुपुष्पाले बताइन् ।

चलचित्र ‘रामनामसत्य’ मा यसअघि अभिनेत्री दिव्या रायमाझी पनि अनुबन्ध भइसकेकी छन् । सुपुष्पाको अनुबन्धपछिको प्रतिक्रिया दिंदै निर्देशक चन्दले भने, “हामीलाई सुपुष्पा जस्तै कदकी अभिनेत्री चाहिएको थियो । उहाँको अभिनय क्षमता पनि उत्कृष्ट छ । कथाको माग अनुसार उहाँ उपयुक्त ठहरिनुभयो ।”

‘राम नाम सत्य’ मा अभिनेता विराज भट्ट र सुशिल श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन् । निर्माण पक्षले चलचित्रमा सुपुष्पा कसको जोडी बनेर देखिनेछिन् भन्नेबारे केही खुलाएको छैन ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । कार्यकारी निर्माता डा. डी. आर. उपाध्याय, टी. आर. गौडेल र नरेन्द्र शाह छन् ।

चलचित्रको छायांकन भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ । एक्सन, प्रेम र रहस्यपूर्ण कथामा आधारित चलचित्रलाई सुसन प्रजापतिले खिच्नेछन् । निर्माण टिमका अनुसार केही कलाकार अझै फाइनल हुन बाँकी छन्, त्यसपछि कलाकारको टिम पूर्ण हुने बताइएको छ ।


ताजा खबर