काठमाडौं । साउनको २३ गते रिलिज हुने चलचित्र ‘मोहर’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले बिहिवार एक कार्यक्रमको आयोजना गर्दै ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बोलको शीर्ष गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा सरद हुमागाइँ र विशाखा साहीको स्वर छ । प्रमोद ढुंगानाको शब्द रहेको गीतमा संगीत सुरेश अधिकारीको छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार पल शाह र नीति शाहको अभिनय छ । जसमा प्रेमीप्रेमिकाले एअर्काप्रति दर्शाएको प्रेम छ ।
यो चलचित्र ‘मोहर’लाई अभिनेतासमेत रहेका निर्देशक ओम प्रतीकले निर्देशन गरेका छन् । उनी आफैँले यो सिनेमाको कथा लेखेका छन् । ‘समाजमा जरा गाडेर बसेको देउकी प्रथाविरुद्ध आवाज उठाउने छ,’ उनले भने, ‘देउकी प्रथासँगै अन्य थुप्रै सस्पेन्स कुराहरूलाई समेत देखाएको भन्दै दर्शकले केही फरक कथा दर्शकले हेर्न पाउने छन् ।’
गीत रिलिज कार्यक्रममा बोल्दै नायक शाहले यो गीतको भिडियो छायांकनका क्रममा निकै नै दुःख भए पनि गीत तयार भएर आएपछि खुसी लागेको बताए । आफूले पहिलो पटक कुनै गीतको भिडियोमा काम गर्दा ‘म सक्दिनँ है’ भनेको पनि पल शाहले सम्झिए ।
नायिका शाहले पनि गीतको छायांकनका क्रममा सबैको मिहिनेत परेको भन्दै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको सुनाइन् ।
पल र नीतिसँगै यो चलचित्रमा बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको ‘मोहर’का निर्माता चुम्बनजंग शाही हुन् । रोशनजंग शाही चलचित्रका लाइन प्रोड्युसर रहेका छन् ।
कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।
चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमाको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् ।