यस्तो छ ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा देशभक्ति प्रस्तुत गरिएको छ ।

आउँदो असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयलाई उठान गर्न खोजेको छ ।

ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि. को प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ (हैट), आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मित्र प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिप्रति अभिरुचि र चेतना जगाउने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए ।

अभिनेता बरालले चलचित्रलाई “फरक धारको सिर्जना” भनी टिप्पणी गर्दै यसले नेपाली साहित्य, भाषा र कलालाई जोड्ने प्रयास गरेको बताए ।

अर्का कलाकार विल्सन विक्रम राईले आफूले चलचित्रको कथावस्तुसँग जोडिएको गीत लेखेको उल्लेख गर्दै फिल्म नजिकबाट देखेको अनुभवले चलचित्रलाई जीवन्त बनाएको बताए ।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।

यो चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ ।


ताजा खबर

No comments to show.