साम्राज्ञी बाहिरिएपछि ‘जदौ’मा भित्रिइन् नीति

काठमाडौं । चलचित्र ‘जदौ’ मा केही समयअघि अभिनेत्री साम्राज्ञी आरएल शाहले काम गर्ने चर्चा थियो । उनले सम्झौता पनि गरिसकेकी थिइन् ।

यो चलचित्रमा साम्राज्ञीले अभिनेता मुकुन भुषालसँग स्क्रिन सेयर गर्ने तय भएको थियो । यतिबेला उनको स्थानमा अभिनेत्री नीति शाहले स्थान लिएकी छिन् । अब यस चलचित्रमा मुकुन र नीतिको जोडी देखिनेछ ।

भदौ पहिलो साताबाट दाङ र प्युठान जिल्लाका विभिन्न स्थानमा छायांकन गरिने यस चलचित्रमा नीति जोडीएसँगै निर्माणपक्षले साम्राज्ञीको नाम हटाएर सार्वजनिक गरेको छ ।

बुझिएअनुसार यो चलचित्रमा दुई जना अभिनेत्री रहने छन् । अर्की अभिनेत्रीमा सन्ध्या श्रेष्ठ यसअघि नै अनुबन्धित गरिएको निर्माण टिमले जानकारी दिएको छ । यस कारण अभिनेत्री साम्राज्ञी चलचित्र ‘जदौ’बाट बाहिरिएको अनुमान लगाउन सकिन्छ ।

अन्तरजातीय प्रेम कथामा आधारित ‘जदौ’मा काजी लिम्बूको निर्माण परिकल्पना छ । लेखन पनि उनकै छ । चलचित्रको निर्देशन कसले गर्नेछ त्यो भने निर्माणपक्षले सस्पेन्स नै राखिएको जनाएको छ ।

तर, काजी लिम्बू नै यसका निर्देशक हुन् । उनको यो डेब्यु सिनेमा हुनेछ ।

सिल्भर स्क्रिन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ती तामाङ छन् । श्याम तामाङले खिच्ने यो चलचित्रका गीतमा बाबुल गिरीको संगीत रहनेछ ।

चलचित्र ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विकला भन्डारीले दिएकी छिन् ।


ताजा खबर