‘मैझारो’ निर्माण गर्दै विल्सन विक्रम, धीरज अनुबन्ध

काठमाडौं । तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेता धीरज मगरलाई अनुबन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । यो फिल्मको लेखन र निर्देशन कलाकार विल्सन विक्रम राईले गर्नेछन्, जुन उनको निर्देशकीय डेब्यू हो ।

विल्सनले बाल्यकालमा राजेश हमालको फिल्म ‘साथी’मा अभिनय गरेका थिए । दर्जनौँ फिल्ममार्फत दर्शकको मन जितिसकेका उनले ‘मैझारो’बाट निर्देशनमा पाइला चाल्दैछन् । फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत र सौरभ लामाको छायांकन रहनेछ । अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

फिल्मको छायांकन साउनको पहिलो हप्ताबाट इलाम र पाँचथरका रमणीय स्थानहरूमा सुरु हुनेछ । निर्देशक राईका अनुसार ‘मैझारो’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो, जसले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गर्नेछ ।

तक्मे प्रोडक्सनले यसअघि हास्य सामग्री र सांगीतिक प्रस्तुतिमार्फत लोकप्रियता कमाएको छ। ‘मेरी बास्सै’बाट ‘तक्मे बुढा’का रूपमा चर्चित विल्सन अभिनय, गायन र संगीतमा समेत अब्बल छन् ।


ताजा खबर