‘सिटामोल’को टिजर र गीतले दर्शकको साथ पाएपछि उत्साहित निर्माण टिम

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिटामोल’ आउँदो साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम अहिले प्रचारप्रसारमा तीव्र रुपमा सक्रिय छ । यसका कलाकार देखि निर्देशकसम्म विभिन्न मिडिया हाउस र डिजिटल प्लेटफर्महरूमा पहुँच विस्तार गर्दै सिनेमाको प्रोमोशनलाई तीव्रता दिइरहेका छन् ।

यो चलचित्रको केही समयअघि टिजर र एक गीत ‘झुम्का कानैमा’ सार्वजनिक भइसकेका छन्, जसले दर्शकमाझ बलियो हाइप बनाएको देखिन्छ । युट्युबमा सार्वजनिक दुबै सामग्रीले १० लाखभन्दा बढी भ्युज बटुलिसकेका छन् ।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले दर्शकहरू ‘सिटामोल’को प्रतीक्षामा रहेको स्पष्ट संकेत गरेको छ । विशेषगरी, टिजरमा देखिएको अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमिस्ट्रीलाई दर्शकले निकै मन पराएका छन् ।

टिजरको कमेन्ट बक्समा धेरैले ‘झ्यानाकुटी’ पछि फेरि यिनै जोडीलाई पर्दामा देख्न पाउनु रमाइलो अनुभव हुने प्रतिक्रिया दिएका छन् । टिजरले नाटकीयता, सामाजिक सन्देश, र अभिनयको स्तरका कारण पनि राम्रो चर्चा पाइरहेको छ ।

टिजर, गीत र कलाकारको प्रस्तुतिले दर्शकमाझ उत्सुकता बढाएसँगै यो सिनेमाले बक्स अफिसमा राम्रै व्यापार गर्नेमा निर्माण टिम आशावादी देखिएको छ ।

टिजर र गीतबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साह दिएको निर्देशक साने बताउँछन् । उनी भन्छन्, ‘टिजर र गीतबाट दर्शकले दिएको सकारात्मक प्रतिक्रिया निकै उत्साहजनक भए पनि अब आउने ट्रेलर र अन्य गीतहरू अझ परिस्कृत, स्तरीय र दर्शकको अपेक्षा अनुसार बन्नुपर्ने चुनौती थपिएको छ ।’

निर्माताद्वय भूगोल कार्की र विकासराज जोशीले पनि सिनेमाको प्रभावलाई अझ मजबुत बनाउन ट्रेलरलाई विशेष बनाउने तयारीमा लागिपरिरहेको बताउँछन् ।

सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्र ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल लगायत बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । यस चलचित्रमार्फत श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले डेब्यु गर्दैछन् ।

तुल्सीदेवी फिल्म प्रालिको ब्यानरमा, जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को निर्माता भूगोल कार्की र विकासराज जोशी हुन् भने कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी र सह-निर्माता गंगाराम श्रेष्ठ छन् ।

सिनेमामा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन र दिव्य सुवेदीको छायांकन रहेको छ ।


ताजा खबर