काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । आज काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ साउनको पहिलो साताबााट छायांकनमा जानेछ । चलचित्र काठमाडौैंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा छायांकन हुनेछ ।
चलचित्रको कथा पनि निर्देशक खनाल स्वयंले लेखेका छन् ।
पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र संजोग रसाइली मुख्य भूमिकामा छन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।
“क्याप्टेन साब एक फरक खालको चलचित्र हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ,” निर्देशक खनालले भने, “क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यावसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।”
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
कृष्ण बहादुर थापाको डीओपी रहने चलचित्रमा चिफ एडी सौगात बस्नेत छन् । प्रोडक्सन डिजाइनर एकी थेक्पा रहेका छन् । रोहितराज गौतम र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । पोस्टर डिजाइन रोयल भीमसेनले गर्नेछन् ।

