काठमाडौं । चलचित्र ‘जदौ’को कलाकार चयन तीव्र गतिमा अघि बढिरहेको छ । हालै मात्र चर्चित अभिनेता विनोद न्यौपानेलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ ।
यसअघि अभिनेता मुकुन भुसाललाई अनुबन्ध गरिएको ‘जदौ’मा केही दिनअघिमात्रै अभिनेत्री नीति शाह र ऋचा शर्मा पनि जोडिइसकेका छन् । निर्माण टोलीका अनुसार अझै पनि केही प्रमुख कलाकारहरू फाइनल हुन बाँकी छन् ।
विविध भूमिकामा प्रभावशाली अभिनय गर्न सिपालु अभिनेता मानिने विनोद न्यौपानेले ‘जदौ’को हिस्सा बन्न पाएकोमा खुशी व्यक्त गरेका छन् । चलचित्रले दर्शकमाझ नयाँ कथा र प्रस्तुति ल्याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
चलचित्र ‘जदौ’लाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गर्दैछन् । अन्तरजातीय प्रेम कथामा आधारित यो सिनेमाको निर्माण परिकल्पना तथा लेखन काजी लिम्बूले गरेका छन् । निर्देशनको टुंगो औपचारिक रूपमा नलगाइएको भए पनि स्रोतका अनुसार काजी लिम्बू स्वयंले नै निर्देशन सम्हाल्ने तयारी गरेका छन् । यदि यथार्थमा उनले निर्देशन गरेमा ‘जदौ’ उनको निर्देशन डेब्यु हुनेछ।
चलचित्रका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ती तामाङ रहेका छन् । सिनेमाटोग्राफी श्याम तामाङले गर्ने छन् भने संगीतमा बाबुल गिरीको योगदान रहनेछ ।
चलचित्र ‘जदौ’लाई २०८२ सालभित्रै प्रदर्शनमा ल्याउने लक्ष्य रहेको जानकारी सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक विकला भन्डारीले दिएकी छिन् ।