‘सुम्निमा’मा अनुपको इन्ट्री, मिलनसँग चौथो सहकार्य गर्दै

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र ‘सुम्निमा’मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् ।

प्रेमकथामा निर्माण हुन लागेको यस चलचित्रमा यसअघि नै अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजनअनुबन्ध भइसकेका छन् । यस चलचित्रमा शाहीको प्रवेशसँगै मुख्य पात्रहरूको रोचक लाइनअप बनेको छ ।

‘सुम्निमा’ मार्फत निर्देशक चाम्स र अभिनेता शाहीको यो चौथो सहकार्य हो । यसअघि उनीहरूले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन् ।

चलचित्र ‘सुम्निमा’मा उनको भूमिका बारे निर्माणपक्षले केही खुलाएका छैन । अभिनेता शाहीले यस चलचित्रमा आफूले अहिलेसम्म पर्दामा नदेखाएको फरक चरित्र निभाउने जानकारी दिएका छन् । उनले ‘सुम्निमा’लाई आफ्नो करिअरको एक महत्वपूर्ण मोडको रूपमा लिएका छन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा तयार हुने यस चलचित्रको नामले नारीप्रधान लागे पनि कथावस्तु विशुद्ध प्रेमकथामा आधारित रहेको निर्देशक चाम्सले स्पष्ट पारेका छन् ।

चलचित्र ‘सुम्निमा’का लेखक राजीव थापा हुन् भने छायांकन कार्य आगामी अगस्ट महिनादेखि लन्डन र नेपालमा सुरु हुने तयारीमा छ । अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया भने अझै जारी रहेको जानकारी चाम्सले दिएका छन् ।

यसैबीच, चाम्स निर्देशित पछिल्लो बायोपिक चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर सफलताको कीर्तिमान राख्दै नेपाली बायोपिक विधामा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ ।

निर्देशक चाम्सका अनुसार ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै स्तरीय रूपमा निर्माण गरिनेछ ।


ताजा खबर