को हुन् ‘सुम्निमा’ मा अडिसनबाट चयन भएका अनिकेत ?

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘सुम्निमा’ मा नव-अभिनेता अनुबन्धित भएका छन् ।

प्रेमकथामा आधारित यस सिनेमामा नव-अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका हुन् । चलचित्र ‘सुम्निमा’ मार्फत उनले नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

‘सुम्निमा’ मा यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भइसकेका छन् । यो चलचित्रमा नव-अभिनेता अनिकेत अनुबन्धित भएसँगै उपासनाको जोडी भएर काम गर्ने छन् ।

निर्माणपक्षले यसअघि चलचित्रमा उपासनाको जोडीको रुपमा अभिनय गर्नका लागि हाल युकेमा बसोबास गर्ने २० देखि २६ वर्ष उमेर समूहका युवाहरूलाई अडिसनका लागि आह्वान गरेको थियो । सोही अनुरुप नव-अभिनेता अनिकेत अडिसनबाट चयन भएका हुन् ।

भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चलचित्रका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए । स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृस्ट आठमा पर्न सफल बनेका थिए ।

नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको चाम्सको भनाइ छ ।

‘सुम्निमा’ को छायांकन नेपाल र बेलायतमा जुलाईदेखि सुरु हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने यो चलचित्र चाम्सको ११ औं निर्देशन हुनेछ । चलचित्रमा कथा तथा पटकथा राजीव थापाले लेखेका छन् ।

‘सुम्निमा’ नामले नारीप्रधान जस्तो लागे पनि, कथा भने प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित रहने निर्देशक चाम्स बताउँछन् । उनी भन्छन्, “कथा बलियो छ, टिम पनि राम्रो छ, त्यसैले ‘सुम्निमा’ उत्कृष्ट सिनेमा बन्नेमा म आशावादी छु ।”

निर्देशक चाम्सको पछिल्लो बायोपिक चलचित्र ‘अञ्जिला’ ले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गर्दै नेपाली बायोपिक विधामा नयाँ कीर्तिमान बनाएको थियो ।

चलचित्र ‘सुम्निमा’ नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण हुने भएको छ । त्यसैले यस सिनेमालाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गर्न लागिएको चाम्सको भनाइ छ ।


ताजा खबर