चलचित्र ‘रत्यौली’ निर्माणकाे घोषणा, सांस्कृतिक र पारिवारिक कथामा आधारित रहने

काठमाडाैं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो सिनेमाको नाम राखिएको हो ।

रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो सिनेमाबाट उनी सिनेमा निर्माणमा डेब्यु गर्न लागेका हुन् । २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् ।

‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल सिनेमा निर्देशन गरेका मुस्कान ढकाल यो सिनेमाका निर्देशक हुन् । नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लागेका छन् ।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो । सिनेमाको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ । आज निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो । अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ ।


ताजा खबर